Sunday, February 24, 2013

तुवांलोको पर्दा


परपर क्षितीजमा,
के छ के छ!
कसैलाई थाहा छैन
कसैले शंका गरेका होलान्
कसैले वास्तविकता देख्लान्
कसैले काल्पनिक भन्लान्
आखिर,
तुवांलोको पर्दाले
सबैको आंखा ढाकेकै छ
सबै छोपिएकै छ!!तर
त्यो दिन आउनेछ
गगन मेगान्जित हुनेछ!
मुसल्धारे पानी र
असिनाले!!
भेल बाढी र पैरोले
हिमपात र तुषारोले
सम्पूर्न तुंवालो हट्नेछ
अनि
क्षितीज छ्याङ्ग देखिएर
त्यस भित्रको
कुकर्म र दुर्गन्ध
पवनको तीव्र गतिमा
टाढा टाढा सम्म पुग्नेछ
तव,
सवैलाई थाहा होला
तुंवालोको पर्दाले
के- छोपेको छ???

Sunday, February 17, 2013

समय-नियती र मन"

जब-जब
व्वाँसोले गाई लुटेको
खबर आउँछ,

... एक झुण्ड स्यालहरु
सिनोको नाम मा भतेर खाइने आशामा
रोए झैं यत्रतत्र
हो-हल्ला मच्चाउछन्

छेउको फोहोर कन्टेनरबाट
झिंगाहरु खुशीमा आल्हादित
हुदै तालीका साथमा
बाजा बजाउन थाल्छन्

पर बसेको बाँदरहरु
तालीका गडगडाहाट संगै
उत्सुक आँखा कान ठाडा पार्छन्

आश्चर्य!!
शताब्दी देखि ढल
मिसिएको खोलामा पौडिरहेका माछालाई एक्कासी
पृथ्वीमा रछ्यान बढेको अनुभब हुन्छ

तब,
बाटीकाका फुलहरु आफ्नो सुगन्धको
आहुती मा त्रसित देखिन्छन्

एक हुल परेवाहरु
अश्रुपुर्ण स्वरमा चिर्बिराउछन्

शान्त निश्चल दुधकोशी
आफैमा बिष घोलेर
गडगडाउछिन्

अनि
म एक कुनामा
अमिलो मनलाई सुम्सुम्याउदै समय नियालिरहेको हुन्छु!!

Friday, February 15, 2013

गजल


सोच्दै थिए अब म तरबार बन्नुपर्छ
ती कुरिती जलाउने अंगार बन्नुपर्छ

आमा भन्नुहुन्छ, ''छोरी हौ तिमी''
''सबैले सिको गर्ने संस्कार बन्नुपर्छ''

संगी एकान्तमा कानेखुसी गर्छिन्
''बीस नाघ्यौ, तिम्रो एक संसार बन्नुपर्छ''

बाहुपासमा बेर्दै प्रेमील ओठ खुल्छ
''घरबार सम्हाल्ने मूल आधार बन्नुपर्छ''

आधा जल्या शरिर मुसार्दै 'उनि' रुन्छिन्
''बाँच्न यहाँ हिंसाको मतियार बन्नुपर्छ''

Wednesday, February 13, 2013

Platonic LOVE

''तिमीसंग छुट्टिएपछिका दिन

कसरी बिते नसोध

मैले आफ्ना सबै पूर्वप्रेमिकाहरु लाई

... सम्झिए अनि आफूलाई नियालेँ
 

तर
ऐनाको प्रतिबिम्ब तिमी झल्कियौ
म, मेरो अस्तित्व र म मा देखिने परिवर्तन
मात्र तिम्रो थियो!
म तिम्रो प्रेमको अझ धेरै पुजारी भए
भक्त र साधक,
तिम्रै तपस्यामा लिन!
आँखा चिम्लेर आफुलाई तिमीप्रति
पूर्ण समर्पित गरेपछि,
जब यथार्थमा टेकेँ
तिमी सुन्दर तलाउको कमल बन्यौ
र म एक नदीको माझी!
अनि
त्यहां मिलनको कुनै तृष्णा थिएन!
फेरी
म हर्षले गद्गदिन्छु
म तिम्रो सिउँदो भर्दिन
किनकी
म त्यो प्रेमी हैन
जसले संसारमा
एकै सैय्यामा लोटेको र
निदाएको यौवन मस्तिष्कको
तृष्णा बाँडेको हुन्छ!
र पनि
तिमी युगौयुग मेरो मनमा राज गरेकी हुन्छौ
मेरो मन्दीरको देवी बनेर,
आस्थाको धरोहर र मेरो जिउने आधार बनेर''

म्यासेज बक्समा यति पढेपछि,
गम्भिरताको साथ उनले डिलिट बटन थिचिन!
रसिलो आँखा चिम्लमएर, हल्का मुस्कुराहट
मा, 

अबरुध्द शुस्त स्वरले
बोलिन्-

''पागल कबि''